दानाबारी । इलामको माई नगरपालिकामा बुवाले खुकुरी प्रहार गरी आफ्नै छोराको हत्या गरेका छन् ।

माई नगरपालिका वडा नं ६ का दिलकुमार राईले १९ बर्षका छाेरा जीवनको हत्या गरेका हुन् । बेलुका ७ बजे घरझगडाका क्रममा ३६ वर्षीय दिलकुमारले छोरा जीवनको पेटमा खुकुरी प्रहार गरेका थिए ।

घाइतेलाई उपचारका लागि बीएण्डसी हस्पिटल बिर्तामोड ल्याइएकोमा उपचारका क्रममा आज विहान३ः२० बजे उनको मृत्यु भएको हो ।

कक्षा ११ मा अध्ययन गर्ने जीवन दिलकुमारका एक्लो छोरा थिए । घटनापछि हिजो बेलुका नै स्थानीयले पक्राउ गरी दिलकुमारलाई प्रहरीको जिम्मा लगाएको स्थानीय पत्रकार बुद्धराज योङहाङले जनाएका छन् ।

घटनाको जानकारी हुनासाथ प्रहरी चौकी महमाईबाट प्रहरी टोली खटिएर खुकुरी प्रहार गर्ने दिलकुमारलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय इलामका प्रवक्ता डीएसपी प्रकाश जवेगुले जानकारी दिए ।