बिर्तामोड। जिल्ला प्रहरी कार्यालय झापाले फरार दुईजना अभियुक्तलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भुटानी शरणार्थी शिविर बेलडाँगीका चेतबहादुर तामाङ र इलाम फाकफोकथुम गाउँपालिकाका रञ्जन खड्का रहेका छन् ।

तामाङ वन पैदावार हानि नोक्सानी मुद्दाका फरार अभियुक्त हुन् । उनलाई अदालतले १५ दिन कैद सजाय र ७,८०५ रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।

खड्का भने सरकारी छाप किर्ते मुद्दामा फरार भएका थिए । अदालतले उनलाई २०७२ जेठमा एक वर्ष कैद सजायको फैसला सुनाएको थियो ।

झापा प्रहरीका निमित्त प्रवक्ता प्रहरी निरीक्षक ढुण्डिराज गिरीले पक्राउ परेका दुवै प्रतिवादीलाई अदालतको आदेश अनुसार कैद सजाय भुक्तानका लागि कारागार चलान गरिएको जानकारी दिए ।