बिर्तामाेड । बाह्रदशी गाउँपालिका ३ स्थित ‘राजगढ महोत्सव’गएका एक व्यक्ति मृत फेला परेका छन् ।

विहीवारबाट शुरु भएको राजगढ महोत्सवमा गएका बाह्रदशी गाउँपालिका– ३ निवासी रविन उप्रेती मृत फेला परेका हुन् । विहीवार साँझ राजगढ बजार पश्चिममा लगाइएको राजगढ महोत्सव हेर्न गएका उप्रेती आज बिहान त्रिवेणी चौक नजिकै खेतमा मृत भेटिएसंगै प्रहरीले अनुसन्धान शुरु गरेको छ

मृतक उप्रेतीले प्रयोग गरेको प्र.१. ०१ , ०१६ प १५५३ नम्वरको मोटरसाइकल शबको नजिकै लडेको अवस्थामा भेटिएको मृतकका आफन्त दिनेश मैनालीले बताए । उनले भने – शब र घटनाको प्रकृति हेर्दा मोटर साइकल दुर्घटनामा परी उनको निधन भएको जस्तो देखिँदैन तर, प्रहरीले मुचुल्का नै नगरी शव उठाएर लगेपछि हामीले विरोध गरेका हौं ।

अहिले मृतक रविनको शव पुनः सोही स्थानमा राखेर मुचुल्का गर्न लागिएको छ । तर, मृतकका आफन्त र स्थानीयले उप्रेतीको दुर्घटनामा निधन भएको हो या कसैले हत्या गरेर शव फालेको हो सो को अनुसन्धान नगरी शव उठाउन नदिने भन्दै विरोध गरिरहेका छन् ।
सवारी दुर्घटनामा परी बेहोस अबस्थामा भेटिएका उनलाई उपचारका लागि अस्पताल लैजाने क्रममा स्थानीयले विरोध जनाएको प्रहरीको भनाई छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डीराज गिरीले बताए ।
बैदेसिक रोजगारीका लागि साउदी गएका उनी २२ दिन अघि मात्रै घर फर्किएको बाह्रदशी गाउँपालिका कार्यपालिका सदस्य लक्ष्मी निरौला अधिकारीले बताइन् । बैदेशिक रोजगारीबाट फर्किएसंगै उनी जग्गाको कारोवार गर्दै आएका थिए ।