अर्जुनधारा । सडक निर्माणमा ढिलाई भएको भन्दै स्थानीयले झापाको बिर्तामोड–शनिश्चरे सडक खण्ड बन्द गरेका छन् । स्थानीय युवाको एक समुहले सडकमा ढुङगा भरेर जाली राखेपछि सडक अवरुद्ध भएको हो ।  

bato 1

बिर्तामोड–शनिश्चरे सडकको निर्माण गर्ने जिम्मा पाएको ‘प्रविण मैनाचुली शान्ति’ जेभीले समयमा काम नसक्दा स्थानीय आक्रोशित भएका छन् । आगामी जेठ ९ गते हस्तान्तरण हुनुपर्ने गरी २०७९ जेठमा १५ कराेड ८२ लाख १९९ रुपै‌याँमा ठेक्का लागेको थियाे । सो सडकको निर्माण कम्पनीले मागेको रकम राज्यले भुक्तानी नगरेपछि निर्माण कार्य अलपत्र परेको छ ।

खाल्टा खुल्टी परेर यो सडक जिर्ण भएको छ । त्यसमाथी पनि धुलो उडेर स्थानीयले सास्ती पाउँदै आएका छन् । सडकमा भएका खाल्टाका कारण कतिपटक सवारी साधन दुर्घटनामा परेका छन् । समयमा सडक निर्माण नभएपछि आक्रोशित स्थानीय युवाको समुहले ३ किलोमिटर खण्डमा चारवटा अवरोध राखेर अवरुद्ध गरेका हुन् ।

शनिश्चरे–बिर्तामोडको मुख्य सडक अवरोध खडा गरेका युवाहरुले बैकल्पिक मार्गका रुपमा प्रयोग हुँदै आएको कप्तानबारी–पुष्पलाल चोक–देबी बस्ती सडकसमेत अवरुद्ध पारेका छन् । त्यस सडकमा मोटरसाइकल मात्र छिर्नसक्ने बनाएर अवरुद्ध गरिएको बताइएको छ ।

जेष्ठ दोस्रो साता निर्माण सम्पन्न भएर हस्तान्तरण हुनुपर्ने सो सडकको हालको प्रगति १४ प्रतिशत मात्र पुगेको सडक डिभिजन कार्यालय दमकका इन्जिनियर उज्वल खतिवडाले जानकारी दिए । उनले काम सम्पन्न भएको बील निर्माण कम्पनीले अर्थ मन्त्रालयमा पेश गरेपनि भुक्तानी नपाएपछि निर्माणको कामलाई निरन्तरता नदिएको बताए ।

देशका अधिकांस निर्माण कम्पनी अहिले मन्त्रालयबाट रकम निकासा नहुँदा निर्माणको कार्यलाई निरन्तरता दिनसक्ने अवस्थामा छैनन् । उनीहरुले भुक्तानीका लागि पेश गरेको बील पनि मन्त्रालयमा थन्किएका कारण यस्तो अवस्था आएको निर्माण व्यवसायीको दावी छ ।

केहिदनि अघि बिर्तामोड–शनिश्चरे सडक खण्ड निर्माण कम्पनी प्रविण मैनाचुली शान्ति जेभीले पेश गरेको बील बमोजिमको रकम निकासा भएको बुझिएको छ । तर, खर्च गरेको रकम मात्र भुक्तानी दिंदा पनि सडक निर्माण कार्यले निरन्तरता पाउने आशा गर्न नसकिने निर्माण व्यवसायीको भनाई छ । थप रकम आउने सुनिश्चितता नभई निर्माण कम्पनी काम गर्न तयार नभएको बताउँछन् ।

योे सडक शंकास्पद रुपले निर्माण भइरहेको थियो । निर्माणस्थलमा आयोजना सुचना पाटी नराखेको कारण यहाँको लगानीका बिषयमा स्थानीयले थाहा पाएका छैनन् । उनीहरुले सडकको संरचना तथा ठेक्का लागेको रकमको अंक थाहा नपाएको बताएका छन् । निर्माण कम्पनीले स्थानीयको आलोचना भएपनि आयोजना सुचना पाटी राखेको छैन ।  

निर्माण कम्पनीका सञ्चालक फडिन्द्र तिम्सिनाले सडक डिभिजन कार्यालयमा पेश गरेको बील बमोजिमको रकम निकासा नभएका कारण निर्माण कार्य जारी राख्न नसकिएको बताए । उनले अहिले पनि रकम निकासा हुने हो भने तोकिएको समयमा सडक निर्माण कार्य सम्पन्न गर्न सकिने दावी गरे ।