बिर्तामोड । श्रीमानको परस्त्रीसँग सम्बन्ध रहेको भन्दै झापाको बुद्धशान्तिमा एक महिलाले पाँच बर्षीया छोरीलाई आफ्नै शरिरमा बाँधेर आगो लगाउँदा छोरीको मृत्यु भएको छ ।

बुद्धशान्ति–२ की २८ बर्षीया माया रम्तेले ५ बर्षीया छोरी बर्षासहित आत्मदाह प्रयास गर्दा बर्षाको मृत्यु भएको हो । मायाको गम्भीर अवस्थामा बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ ।

गोपालडाँडाकी मायाले श्रीमानको परस्त्रीसँग सम्बन्ध रहेको भन्दै शुक्रबारसाँझ साढे आठ बजे छोरीलाई आफ्नै शरिरमा बाँधेर पेट्रोल छर्किएर आगो लगाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । जिप्रका झापाका निमित्त सुचना अधिकारी प्रहरी निरीक्षक ढुण्डीराज गिरीका अनुसार गम्भीर अवस्थाका उनीहरुलाई बीएण्डसी अस्पताल बिर्तामोड पठाइएकोमा उपचारको क्रममा छोरी बर्षाको शनिबार बिहान निधन भएको हो ।

घटनास्थलबाट प्रहरीले मायाले लेखेको सुसाइड नोट फेला परेको छ । उक्त नोटमा श्रीमान राजन बिकको परस्त्रीसँग सम्बन्ध रहेका कारण बाध्य भएर यस्तो निर्णय लिनु परेको उल्लेख गरिएको प्रहरीले जनाएको छ । बिहानै ज्यामी काममा निस्किएका राजनलाई बेलुका घर फर्कने क्रममा बुधबारे बजारबाट नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक गिरीले बताए । राजनको परिवारमा ८१ बर्षीया आमा सुन्तलीमाया खाती मात्र रहेको प्रहरीले जनाएको छ ।