बिराटनगर । मोरङको बुढीगंगा गाउँपालिका ४ प्रगती टोलमा सवारी दुर्घटनामा परी तीनजना बालबालिकाकाे मृत्यु भएको छ । मृत्यु हुने एकै परिवारको दुई र अर्का एक जना रहेका छन् ।

बुढीगंगा गाउँपालिका ४ का ज्योती अधिकारीको चार वर्षीय छोरी इसिता अधिकारी, छोरा निशान्त अधिकारी र सन्जु खवासको ८ वर्षीया छोरी रिहा खवास मृत्यु भएको प्रहरीले जनाएकाे छ । ज्योतीका छोरा र छोरी जुम्ल्याहा हुन्। उनीहरु सुतेको बेला लहरी पल्टिएर ठुलो टुङगाले किचेर मृत्यु भएको प्रत्यदर्शीले बताएका छन् । घटनामा ज्योती अधिकारी र सन्जु खवास घाइते भएका छन् । उनीहरुको अवस्था समान्य रहेको प्रहरीले जनाएको छ ।

आज विहान ७ बजे कच्चा पदार्थ बाेकेर उद्योगतर्फ जाँदै गरेको लहरी बुढीगंगा ४ प्रगती टोलमा दुर्घटना भएको थियो । दुर्घटना भएर लहरी ज्योतीको घरमा पल्टिएको प्रहरीले जनाएको छ । लहरीले थिचेर तीन जना बालवालिकाको घटनास्थलमा मृत्यु भएको हो ।
आर जे २९ जीबी १५६१ नम्बरको भारतीय लहरी दुर्घटना भएको थियो । मोरङ प्रहरीका प्रवत्ता डिएसी रन्जन कुमार दाहालले घटनास्थलबाट ढुङगा पन्छाएर शव निकाल्ने प्रयास गरिरहेको बताए । ‘अहिले क्रेनको सहयोगमा उद्धार गर्ने प्रयास भइरहेको छ,’ उनले भने ।