बिर्तामोड । झापाको बिर्तामोडमा दुर्गा प्रसाईँका कार्यकर्ताहरुले ऋणिलाई टर्चर दिएको भन्दै दुईवटा बैंकमा तोडफोड गरेका छन् । प्रसाईँका कार्यकर्ताहरुले एभरेष्ट बैंक र ज्योती विकास बैंकको बिर्तामोड शाखा कार्यालयमा तोडफोड गरेका हुन् । 

प्रहरीले तोडफोडमा संलग्न ४ जना कार्यकर्तालाई नियन्त्रणमा लिएको छ । घटनामा संलग्न भएको अभियोगमा बुद्धशान्तिर्का  अन्जेस राई (बुलेट किराँती), बिर्तामोड ३ सैनिकमोडका मनिकुमार तामाङ  सहित ४ जनालाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायव उपरिक्षक प्रकाश बिष्टले जानकारी दिए । पक्राउ पर्ने अन्य दुईजनाको नाम सार्वजनिक भएको छैन । 

प्रसाईँ नेतृत्वको ‘राष्ट्र राष्ट्रियता धर्म संकृति र नागरिक बचाउ महाअभियान’ को यूवा संगठन नागरिक यूवा दस्ताको आयोजनामा भएको प्रदर्शनपछि बैंकमाथि आक्रमण भएको प्रहरीले जनाएको छ ।  नागरिक यूवा दस्ताका झापा जिल्ला प्रमुख भिम तुम्बापोको नेतृत्वमा बिरोेध प्रदर्शन भएको थियो । 

गएको वैशाख २५ गते एभरेष्ट बैंक र ज्योति विकास बैंकले टर्चर दिएको भन्दै बर्दियाको राजापुरका खुशीराम चौधरी आत्महत्या गरेको भन्दै प्रसाईँका कार्यकर्ता बिरोधमा उत्रिएका हुन् । लगभग १५० जनाको उपस्थितिमा कालो माक्स र नेपालको झण्डा सहित विभिन्न बिरोधका नारा लगाउँदै उनीहरुले बिरोध प्रदर्शन गरेका थिए । 

प्रदर्शनकारीले ज्योती बिकास बैंकमा प्रवेश गर्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । उनीहरुले एभरेष्ट बैंक रहेको घरमा ढ्ङगा प्रहार गर्दा सो घरको १५, १६ वटा सिसा फुटेको प्रहरीले जनाएको छ । ज्योती बिकास बैंकमा भने क्षति नभएको प्रहरीले जनाएको छ ।