बिर्तामाेड । पर्यटन कार्यालय झापाले पर्यटन व्यवसायमा आवद्ध व्यवसायीकाे क्षमता विकास सम्बन्धी एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेकाे छ । बिर्तामाेडमा आयाेजित प्रशिक्षण कार्यक्रममा होटल, ट्राभल्स, ट्रेकिङमा आवद्व व्यवसायीहरुको सहभागिता रहेकाे थियाे । 

पर्यटन कार्यालय झापाका प्रमुख छविलाल खतिवडा र वाल्मिकी एजुकेसन फाउण्डेसनका लेक्चरर निरज श्रेष्ठले प्रशिक्षण दिएका  थिए । प्रशिक्षण कार्यक्रममा झापाका ५० भन्दा बढी पर्यटन व्यवसायीकाे सहभागिता रहेकाे थियाे । 

कार्यक्रमकाे उद्घाटन गर्दै प्रमुख अतिथिसमेत रहेका बिर्तामाेड नगरपालिकाका उप-प्रमुख नगेन्द्र कुमार संग्राैलाले  नेपालकाे पर्यटन विकासका लागि विभिन्न सम्पदाहरुको कोरिडोर निर्माण गर्नुपर्ने धारणा राखे । उनले पर्यटन विकासको लागि होटल, ट्राभल्स, ट्रेकिङमा आवद्व व्यवसायीहरुको सरोकारवालाहरुको हातेमालो जरुरी हुने बताए । 

नेपालमा बिबिधतायुक्त हावापानी रहेकाे भन्दै संग्राैलाले त्यस्ता हावापानी भएका स्थान पर्यटककाे राेजाइमा पर्ने भएकाले यसकाे प्रचार-प्रसार गर्न आवश्यक रहेकाे बताए । नेपालमा हिमाल, पहाड र तराई जस्ताे बिविधतायुक्त भूगाेल रहेकाे भन्दै १२ महिना नै यहाँ पर्यटनकाे सम्भावना रहने धारणा उनकाे थियाे । 

हाेटल व्यवसायी संघ झापाका महासचिब शिवराज पौडेलले स्वागत गरेकाे कार्यक्रमकाे सञ्चालन पर्यटन कार्यालय झापाका सुचना अधिकारी निरज कट्टेलले गरेका थिए । कार्यक्रममा होटल व्यवसायी संघ कोशी प्रदेशका अध्यक्ष राजन दंगाल, झापा अध्यक्ष इन्दिरा श्रेष्ठ, नेपाल टुर्स एण्ड ट्राभल्स एशाेसिएसनका काेशी प्रदेश महासचिब नविन खरेल लगायतका सराेकारवालाकाे सहभागिता रहेकाे थियाे ।