बिर्तामोड । अविरल बर्षापछि आएको बाढीले झापाका बिभिन्न स्थानमा क्षति गरेको छ । खासगरी दक्षिणी झापामा बाढीले धेरै असर गरेको जिल्लास्थित सरोकारवाला अधिकारीहरुले बताएका छन् । 

IMG-20240618-WA0003received_820129650092713

बाढीले कतै सडक अवरुद्ध गरेको छ भने कतै पहिरोले घर बगाएको छ । दक्षिणी झापाका धेरै स्थान डुबानमा पर्दा सयौं नागरिक बिस्थापित भएको जिल्लास्थित सुरक्षा अधिकारीहरुले बताएका छन् । 

मंगलबार बिहानको राती आएको बाढीले झापाको कचनकवल गाउँपालिका–५ खुट्टागञ्जमा डुवान भएको छ । कच्ची घरमा ५ फुटसम्म डुवान भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । सो स्थानको श्रीमलादेवी राजबंशी, कार्तिक राजबंशी, संजय राजबंशी, कुञ्जि राजबंशीको घर डुवान भएपछि उनीहरु बिस्थापित भएका छन् । 

उनीहरु सोही स्थानका पष््रभा राजबंशीको घरमा आश्रय लिएको बसेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार चन्दले जानकारी दिए । यसैगरी बिर्तामोड–चन्द्रगढी सडकमा बिजुलीको १० वटा पोल ढलेका छन् । बिजुलीको दुइवटा पोलले कृष्ण श्रेष्ठ र नारायण श्रेष्ठको घरमा क्षति पुर्याएको छ । 

बिजुलीको पोल ढल्दा त्यहाँ लगाएको ५ वटा सिसी क्यामेरामा क्षति पुगेको छ भने त्यस स्थानमा बिद्युत र इन्टरनेट सेवासमेत अवरुद्ध भएको स्थानीय अनुप सापकोटाले जानकारी दिए ।

यसैगरी अर्जुनधारा–१ खुदुनाबारीमा बाढीले खानेपानीमा क्षति पुर्याएको छ । सोही स्थानको राते भन्ने ठाउँमा बाढी बस्तीमा पस्दा १० घर डुवानमा परेको नेपाल रेडक्रस सोसाइटी झापाका सहभाति लोकराज ढकालले जानकारी दिए । उनले सोही स्थानमा पहिरोका कारण लाप्चेटार–सहकाले जाने सडक पुर्ण रुपमा अवरुद्ध भएको उनले बताए ।  लाप्चेटारमा आएको पहिरोले स्थानीय पुष्पा समालको घर पुरेको छ । उनलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको ढकालले बताए । 

यसैगरी सो स्थानमा गोयाङ र टाङटिङ खोलाले बस्तीतिर कटान सुरु गरेको ढकालले जानकारी दिए । यस्तै अर्जुनधाराकै सुखानी खोलामा रहेको कज्वे बाढीले बगाउँदा मदन भण्डारी राजमार्गमा यातायात अवरुद्ध भएको ढकालले बताए ।