बुद्धशान्ति । झापाको बुद्धशान्ति गाउँपालिकामा सरकारी प्रतिबन्धका समयमा पनि खुलेआम नदीजन्य सामग्री उत्खनन भइरहेको पाइएको छ ।
मंगलबार दिउँसो सञ्चारकर्मीकोे टोली बुद्धशान्ति गाउँपालिका वडा न ५ को टिमाई खोलामा पुग्दा जेसीबीको प्रयोग गरेर चारवटा टिपरले नदीजन्य सामग्री उत्खनन गरिरहेको पाइएको छ ।
गाउँपालिका, जनपथ प्रहरी र सशस्त्र प्रहरीको मिलेमतोमा तस्करले त्यसरी सामग्री उत्खनन गरेको स्थानीयले बताएका छन् । गाउँपालिकाकै नेतृत्व उत्खननमा सहभागी भएको आरोप स्थानीयको रहेको छ ।
असार, साउन र भदौ महिनाभरी नदीजन्य सामग्री उत्खनन गर्न पाइदैन । यो नियम देशभरका लागि लागू हुने गरेको छ । तर, बुद्धाशान्ति गाउँपालिकामा भने दिन दहाडै नदीजन्य सामग्री उत्खनन भइरहेको देखिएको छ ।
सञ्चारकर्मीको समुह उत्खननस्थलमा पुगेको थाहा पाएपछि उत्खननमा संलग्न साधनको भागाभाग भएको थियो ।



















