बिर्तामोड । झापाको सुरुङगामा कण्डक्टरले चलाएको बसले ठक्कर दिदा कमल गाउपालिका-५ का लक्ष्मीप्रसाद सुब्बाको मृत्यु भएको छ ।
विराटनगरबाट काकड्भिट्टा तर्फ जादै गरेको प्रदेश १-०१-००१ ख ३४२३ नम्बरको बसले बिर्तामोडबाट सुरुङगा तर्फ जादै गरेको को १९ प ६२८२ नम्बरको मोटरसाईकललाई ठक्कर दिई दुर्घटना हुँदा सुब्बाको मृत्यु भएको हो ।
कन्काई नगरपालिका वडा नम्बर २ पवित्रा पेट्रोल पम्प नजिक पुर्व पश्चिम राजमार्गमा दुर्घटना भएको हो । दुर्घटनामा सुब्बाको दाहिने खुट्टा भाँचिएको, टाउको र छातिमा चोट लागेको थियो । बिर्तामोडमा उपचारका क्रममा सुब्बाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सो बसले मोरङको बेलबारीमा अर्को मोटरसाइकल चालकलाई ठक्कर दिई घाइते बनाएको थियो । चालक सागर थुलुङ राई सो दुर्घटनाको बारेमा छलफल गर्न सोही स्थानमा बसेका थिए । त्यसपछि बसका कण्डक्टर पुण्य सिटौलाले चलाएर ल्याउदै गर्दा सुरुङगामा दुर्घटना भएको हो ।
प्रहरीले तत्काल फरार भएका बसका चालक राई र सहचालकलाई नियन्त्रणमा लिएको जनाएको छ । घटनापछि कण्डक्टर सिटौला फरार रहेकाले उनको खोजतलास गरिरहेको प्रहरीले जानकारी दिएको छ ।



















