भद्रपुर । झापा जिल्ला अदालतमा निर्माण भएको थुनुवा कक्षकाे उद्घाटन भएको छ। भद्रपुर नगरपािलकाकाे आर्थिक सहयोगमा थुनुवा कक्ष निर्माण भएकाे हाे ।
झापा जिल्ला अदालतका प्रमुख न्यायाधीश अशाेक कुमार बस्नेतको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा झापा जिल्ला अदालतका माननीय न्यायाधीश प्रकाश कुमार अधिकारी, तेजबहादुर खड्का, नविनकुमार जोशी, नगेन्द्र केशरी पोखरेल, रामप्रसाद पौडेल, भद्रपुर नगरपालिका प्रमुख गणेश पोखरेल, उप प्रमुख राधा कार्की, प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौला, श्रेस्तेदार किरणकुमार सिंह, जिल्ला सरकारी वकिल कार्यालय झापाका प्रमुख रुद्रआचार्य, जिल्ला प्रहरी कार्यालयका, बार इकाई झापा र कारागार कार्यालय झापाका प्रतिनिधि लगायत अदालतका शाखा अधिकृत कर्मचारीहरु समेतको उपस्थिति रहेको थियो ।
झापा जिल्ला अदालतका प्रमुख न्यायाधीश बस्नेत र भद्रपुरका नगर प्रमुख पोखरेलले संयुक्तरुपमा थुनुवा कक्षको उद्घाटन गरेकाे कार्यक्रमको संचालन अदालतको प्रशासन शाखाका शाखा अधिकृत रामचन्द्र बस्नेतले गरेका थिए ।
मुद्दामा पुर्पक्षको क्रममा कारागारमा रहेका प्रतिवादीलाई अदालतमा उपस्थित गराउदा सुरक्षित तवरले राख्नको लागि थुनुवा कक्ष निर्माण भएको प्रमुख न्यायाधीश बस्नेतले बताए ।
यसअघि थुनुवाहरूले निजहरूका आफन्तसंग भेटघाट गर्न नपाएकाे गुनासो आउने गरेकोमा अव थुनुवा कक्ष निर्माण भएसंगै थुनुवासंग उनीहरूका आफन्तले छोटो भेटघाट र बोलचाल गर्न समेत सकिने भएको छ ।
करिब ३० जना बस्न मिल्ने, महिला र पुरुषको फरक फरक शौचालय रहेको, स्टेन फेन सहितको थुनुवा कक्ष निर्माण समेतका लागि भद्रपुर न पा बाट १० लाख रुपैंया प्राप्त भएको र थुनुवा कक्षको निर्माणले सरोकारवाला सेवाग्राहीको गुनासो समेत सम्बोधन भएको अदालत प्रशासनले जनाएको छ।



















