बिर्तामाेड । शनिबार साँझ झापामा चलेकाे हावाहुरीले ठुलो क्षति पुर्‍याएको छ । हावाहुरीले घरको छाना उडाउनुका साथै ठाउँ-ठाउँमा बिजुलीको पोल ढालेर क्षति पुर्याएकाे हाे । 

चारआलीको पाउ पाथीभरा मन्दिर नजिकै पूर्वपश्चिम राजमार्गमा सखुवाको रुख ढल्दा एउटा कारमा क्षति पुगेको छ । चारआलीबाट बिर्तामोडतर्फ जाँदै गरेको बागमती प्रदेश ०१ –०२३ च ५०९३ नं को कारमा  रुख ढलेर क्षति पुगेको हो ।

कारमा पाँच जना सवार रहेकोमा कसैलाई केही पनि नभएको चारआली प्रहरी चौकीले जनाएकाे छ । रुख ढलेर अवरुद्ध भएको राजमार्गलाई जेसीबी लगाएर राति नै सुचारु गराएको उनले जानकारी दिए ।

त्यस्तै हावाहुरीले बिजुलीको पोल ढाल्दा धुलाबारीमा विद्युत् अवरुद्ध भएको छ । चारआली क्षेत्रमा ५–६ वटा बिजुलीको पोलमा क्षति पुगेको नेपाल विद्युत् प्राधिकरणका कर्मचारी युवराज न्यौपानेले बताए । उनले चारआली क्षेत्रमा राति नै विद्युत् सुचारु गरिएको बताउँदै धुलाबारी क्षेत्रमा अवरुद्ध नै रहेको जानकारी दिए ।

मेचीनगरको धाईजन, धुलाबारी , काँकडभिट्टामा पनि बिद्युत् अवरुद्ध रहेको जनाइएको छ । हावाहुरीले मेचीनगरमा धेरै क्षति पुर्‍याएको मेचीनगर १३ का वडाध्यक्ष कृष्णराज सिग्देलले बताए । उनले बिजुलीको पोल र तारसँगै वडावासीहरूको घरहरूमा पनि क्षति पुगेको जानकारी दिए । घरहरूमा पुगेको क्षतिको विवरण संकलन भइरहेको उनले बताए ।