भद्रपुर । दशगजामा सडक बनाउन सुरु गरेका भारतीयलाई नेपाली पक्षले त्यहाँबाट धपाएको छ । आइतबार बिहानै सडक निर्माण गर्न आएका भारतीय नागरिकलाई नेपाली सुरक्षाकर्मी र स्थानीयले अवरोध गर्दै त्यहाँबाट धपाएका हुन् । 

झापाको कचनकवल गाउँपालिका–१ घेराबारीमा रहेको प्रस्ताबित गुल्मका डिएसपी महेश बिष्टले एसएसबीको संरक्षणमा घरेलु औजार लिएर सडक निर्माण गर्न आएका भारतीयलाई त्यहाँबाट धपाएको बताए । नेपाल–भारतको अन्तरास्ट्रिय सिमा स्तम्भ १२४ नम्बरको सिमा पिल्लर उतरतर्फ नेपालको उग्रनारायण बस्ती र दक्षिण तर्फ भारतको जोरबारी बस्ती रहेको छ । त्यसको नजिकै भारतीय सिमा सुरक्षा बलको उपस्थितिमा भारतको जोरबारीका स्थानीयहरुले शनिबार १ सय मिटर सडक निर्माण गरेका थिए । आइतबार बिहान पुन सडक निर्माण गर्न जोरबारीका स्थानीय आएपछि डिएसपी बिष्टको टोलीले अवरोध गरेको हो । 

नेपालका तर्फबाट उग्रनारायण बस्तीका स्थानीय, कचनकवलमा रहेको सशस्त्र प्रहरीको टोली र नेपाल प्रहरीको टोलीले सडक निर्माण गर्ने कामको प्रतिवाद गरेको थियो । यस क्रममा केही समय बिवाद उत्पन्न भएको स्थानीयले बताएका छन् । भारतीय एसएसबी कदुभिटाका जेआर भाटले धम्की पुर्ण शब्दमा गुल्म प्रमुख बिष्टलाई बाटो निर्माणमा कुनै गलत नभएको, दशगजा क्षेत्र भनेको दश गज मात्र हो र दश गज छोडेर भारतले बाटो निर्माण गर्न पाउने बताउँदा बिष्टले त्यसको प्रतिवाद गरेको बताएका छन् । प्रतिवादमा विष्टले दशगजा क्षेत्र भित्र कुनै संरचना बनाउन नदिने जिकिर गरेका थिए । त्यसका लागि नेपाल सरकारबाट निर्देशन आएको खण्डमा मात्र अवरोध नगर्ने चेतावनी दिएपछि भारतीय पक्ष पछि हटेको थियो । 

बिवाद समाधानका लागि खनेको बाटो पहिलाकै जस्तो संरचनामा लाने सहमति भएको थियो । नेपाली र भारतीय सुरक्षाकर्मी तथा दुबै देशका स्थानीयवासीको संलग्नतामा खनेको १ सय मिटर सडक पुरेर पुरानै अवस्थामा फर्काइएको हो । नेपाली पक्षले अवरोध गरेपछि भारतीय पक्षले सडक निर्माण नगर्ने भएको बताइएको छ ।