बिर्तामोड । झापाको बिर्ताबजारस्थित नयाँ सृष्टि पुनस्र्थापना केन्द्रमा राखेका आफन्तलाई लिन जाँदा त्यसका सञ्चालकसहित कर्मचारीले एक महिलासहित तीनजनालाई निर्घात कुटपिट गरेका छन् । कुटपिटबाट घाइते भएका तीनैजनाको बिर्तामोडको बिएण्डसी हस्पिटलमा उपचार भइरहेको छ । 

स्थानीय आकाश खड्काले सञ्चालन गरेको पुनस्र्थापना केन्द्रमा भएको कुटपिटबाट अर्जुनधारा–१ की सविना तामाङ, बिर्तामोड–५ का मनकुमार फेदाङ र बाबुराम योङहाङ घाइते भएका हुन् । घटना अनुसार सविनाको देवर मदन तामाङलाई ६ महिना अघि सो पुनस्र्थापना केन्द्रमा उपचारका लागि भर्ना गरिएको थियो । पीडित परिवारका अनुसार घाइतेमध्ये मनकुमारको मेरुदण्डमा चोट लागेको छ । 

सञ्चालक खड्कासँग हरहिसावका बारेमा प्रश्न उठाउँदा अश्लिल शब्दले गाली गलौज गर्दै एक्कासी कुटपिट गरेको पीडितले बताएका छन् । खड्कासहित पुनस्र्थापना केन्द्रका ८,९ जना कामदार खनिएर कुटपिट गरेको उनले बताइन् । आफन्त तीनजनालाई कुटपिट गरेपछि उपचारमा आएका मदन तामाङलाई भने खड्काले घर पठाएको छ । 

खड्काले आफन्त लिन आएको समयमा तामाङ परिवारसँग सामान्य बिवाद मात्र भएको बताए । ‘ईलाका प्रहरी कार्यालयमा कुटपिटको जाहेरी हाल्नु भएको छ अरे, म अहिले ईलाका आएको छु–खड्काले भने–‘उहाँहरु उपचार गर्न जानुभएको छ भन्ने सुनेको छु, त्यो उहाँहरुको कुरा हो, बाँकी कुरा त्यहाँ रहेको सिसि क्यामेराको फुटेज हेर्दा हुन्छ । उनले कुटपिट गरेको बिषय अस्विकार गरेका छन् ।