इलाम । अवरुद्ध मेची राजमार्ग सञ्चालनमा आएपछि इलामसहित पाँचथर र ताप्लेजुङको जनजीवन सहज बन्दै गएको छ। झापादेखि इलाम हुँदै पाँचथर र ताप्लेजुङ जोड्ने मेची राजमार्ग अन्तर्गत इलाम नगरपालिका-९ माईखोला छेउमा पहिरोले अवरुद्ध सडक पाँच दिनपछि मङ्गलबार साँझदेखि सञ्चालनमा आएको छ ।

यो राजमार्ग सञ्चालनमा आएसँगै इलामसहित पाँचथर र ताप्लेजुङ जनजीवन सहज बन्दै गएको हो । केहीदिनअघि परेकाे निरन्तर वर्षापछिको पहिरोले माईखोला छेउको सडककाे ग्याबिङ जालीसहितको वाल तथा अन्य स्थानमा खसेको पहिरो खसेर आवत जावत बन्द भएकाे थियाे । पहिराे पन्छाएपछि राजमार्ग सञ्चालनमा आएकाे हो । सडक डिभिजन कार्यालय इलाम र इलाम नगरपालिकासहित स्थानीयवासीको सहयोगमा राजमार्ग पुन: सञ्चालनमा ल्याइएको प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताइन् ।
अवरुद्ध सडक सञ्चालनमा आएपछि मङ्गलबारदेखि चार पाङ्ग्रे साना र दुई पाङ्ग्रे सवारी साधन सञ्चालनमा ल्याएको जिल्ला प्रहरी प्रमुख प्रभुप्रसाद ढकालले बताए । चार पाङ्ग्रे ठुला सवारी साधन र मालवाहक साधन भने बुधबार दिउँसो सडकको अवस्था विचार गरेर मात्र सञ्चालनमा ल्याउने उनले बताए ।
“सडक पुनःनिर्माणपछि अहिले साँझ ६ बजेदेखि साना सवारी साधन सञ्चालन गर्न दिएका छौँ, ठुला सवारी साधनको हकमा भने भोलि दिउँसो सडकको अवस्था बुझेर मात्र सञ्चालन गर्न दिइनेछ,” प्रमुख ढकालले भने, “राजमार्ग सञ्चालनमा आएसँगै बिच बाटोमा रोकिएका दर्जनौँ सवारी साधन गन्तव्यतर्फ लागेका छन् ।” उनले राजमार्ग अन्तर्गतको इलाम–राजदुवाली खण्डमा भएको सडक अवरुद्ध सबै सफा पारिसकिएको र सवारी आवातजावत सहज भइसकेकाे बताए ।
राजमार्ग अवरुद्ध भएपछि झापा, मोरङ र सुनसरीदेखि इलाम, पाँचथर, ताप्लेजुङ आउजाउ गर्ने सयौँ सवारी साधन माईखोला वारी र पारीबीच बाटोमै रोकिएका थिए । माईखोला पारीका सवारी साधनले माईखोलासम्म यात्रु ल्याउने र वारीका सवारी साधनले वारीसम्म यात्रु लैजाने गर्दै आएका थिए । सडक सञ्चालन भएसँगै अहिले सबै गन्तव्यतर्फ लागेका छन् ।



















