पाँचथर । पाँचथरको हिलिहाङ गाउँपालिका-६ गुराँसेस्थित मेची राजमार्गमा शुक्रबार भएको ट्रक दुर्घटनामा घाइते भएका एकजनाको उपचारका क्रममा मृत्यु भएको ।
ताप्लेजुङबाट झापा जाँदै गरेको ना. ४ ख ७१२३ नम्बरको ट्रक दुर्घटनामा घाइते भएका हिलिहाङ गाउँपालिका-३, पन्चमीका ५६ वर्षीय भवानीशङकर पौडेलको मृत्यु भएको छ ।
घटनामा अन्य दुईजना घाइते भएका छन्। घटनामा इलाम नगरपालिका-१२ का ५२ वर्षीय ट्रक चालक तेज बहादुर दास सामान्य घाइते भएका छन् भने झापाको बिर्तामोड नगरपालिका-१ चारपानेका ट्रक मालिक राजकुमार बस्नेत गम्भीर घाइते भएका छन्।
मृत्यु भएका पौडेल गोपेटारबाट लिफ्ट लिएर फिदिम आउन लागेका थिए। ट्रकको ब्रेक फेल भएर करिब ५०/६० मिटर तल सडकबाट खसेको जनाइएको छ।
बस्नेतको दायाँ खुट्टा भाँचिएको र घाँटीमा चोट लागेको छ। दुवैको पाँचथर जिल्ला अस्पतालमा उपचार भइरहेको छ।
मृतकको शव जिल्ला अस्पतालको शवगृहमा राखिएको छ भने ट्रक घटनास्थलमा नै रहेको छ।



















