बिर्तामोड । सवारी दुर्घटनामा बृद्वि भएसँगै कोशी प्रदेशका तीन जिल्लामा टाईम कार्ड लागू हुने भएको छ ।

तीब्र गतिका कारण बढ्दो दुर्घटनालाई न्यूनीकरण गर्न आजदेखि झापासहित तीन जिल्लामा टाइमकार्ड लागु हुन  लागेको हो ।

आज बिहान मेचीनगरको काँकडभिट्टामा एक कार्यक्रममार्फत झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले टाइमकार्डको शुभारम्भ गर्ने कार्यक्रम तय भएको छ । मध्यम दूरीका सार्वजनिक सवारीसाधनलाई लक्षित गरी झापा , मोरङ र सुनसरी जिल्लामा टाइमकार्ड लागु गर्न खोजिएको हो ।

मध्यम दूरीका सार्वजनिक सवारीसाधनलाई टाइमकार्ड लागु हुने र अन्य सवारीसाधनलाई छड्के जाँच गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक गणेश पौडेलले बताए । 

तोकिएको समयअनुसार चलाए नचलाएको जाँच गर्न पूर्वबाट जाने सवारीसाधनलाई झापाका तीन ठाउँमा निरन्तर चेकिङ हुने भएको छ । पूर्वबाट जाने सवारीसाधनहरुका लागि काँकडभिट्टा, बिर्तामोड र केर्खामा चेकिङ हुन्छ भने पश्चिमबाट आउनेहरुका लाागि दमकको तारावारी , लक्ष्मीपुर र काँकडभिट्टामा चेकिङ हुने प्रहरी निरीक्षक पौडेलले बताए ।

झापामा केही समयदेखि अत्यधिक दुर्घटना हुन थालेको छ । कात्तिक महिनामा मात्र जिल्लामा १४ जनाले दुर्घटनामा ज्यान गुमाएका थिए । यसअघि २०७६ सालमा पनि झापामा टाइमकार्ड लागु भएको थियो । तर, त्यसलाई निरन्तरता दिन सकिएको थिएन ।