बिर्तामोड ।   बिर्तामोड नगरपालिका वडा नम्बर ७ मा  'एक घर एक बत्ती अभियान' सुरु भएको छ ।

जंगली हात्ती प्रभावित यस वडामा स्थानीयलाई रातिको समयमा हिँडडुल गर्न सहज होस् भन्ने उदेश्यले 'एक घर एक बत्ती अभियान' सुरु गरिएको हो ।

यस वडामा २४ वटा टोल रहेका छन् । यी मध्ये हालसम्म हात्तीबाट बढी प्रभावित रहेका बाह्रघरे, झोलुङ्गे, खालबाडी, सिमसार, पाथिभरा, स्रिजंघा, फक्तालुङ लगायतका टोलमा १५० भन्दा बढी सडक बत्ती जडान गरीएको वडाअध्यक्ष अबिरल कृष्ण खरेलले जानकारी दिए । 

उनले यो अभियानलाई प्राथमिकताको साथ अघि बढाईने बताए । अहिले बत्ती जडान कार्य धमाधम भईरहेको र सबै ठाउँमा आवश्यकता अनुसार जडान गरिने बताए । 

नगरपालिकाको सहयोगमा वडा कार्यालयले बत्ती जडान गरेको हो ।  घर घर बाटै लाइन टाँगेर जडान गरीने हुँदा त्यसको महशुल व्यक्तिले नै तिर्नु पर्ने छ । यसो गर्दा व्यवस्थापन कार्यमा सहज हुने वडाअध्यक्ष खरेलले बताए । जडान गरिएको बत्ती बिग्रीएमा वडाले नै मर्मत तथा फेरबदल गर्ने छ ।

हाल टोल टोलमा पुराना जोडिएका बत्तीको मर्मत र नयाँ थप गर्ने कार्य भईरहेको छ । अहिले जडान गरीएका बत्तीहरुको खर्च प्रति एलइडी बल्ब १५ सय देखि ३ हजारसम्म रहेको वडाअध्यक्ष खरेलले जानकारी दिए ।