दमक । झापाको कमल गाउँपालिकामा यात्रुबाहक बसले तीनवटा सवारीसाधनलाई ठक्कर दिएकाे छ । बसकाे ठक्करबाट घाइते भएका पाँचजनामध्ये एकजनाको मृत्यु भएको प्रहरीले जनाएकाे छ । 

उक्त दुर्घटनामा घाइते भएका प्रदेश न‍.१–०१–०२ह.९०१ नम्बरको सिटी सफारी चालक दमक–९ का ५३ वर्षीय राम गुरागाईंको उपचारको क्रममा गएराति मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका सूचना अधिकारी अर्जुन सोडारीले जानकारी दिए ।

हिजो बिहान अन्दाजी ११ः२७ बजे कमल गाउँपालिका वडा न.५ ज्योति चोकस्थित पूर्वपश्चिम राजमार्गमा दमकबाट केरखातर्फ आउँदै गरेको प्रदेश न.१–०२–००१ख ९७०६ नम्बरको यात्रुबाहक बसले सोही दिशातर्फ आउँदै गरेको प्रदेश न. १–०१–००२ च. ८४० नम्बरको कारलाई पछाडीबाट ठक्कर दिँदा उक्त कार बाटोदेखि तल झरेको थियो । सोही बसले बिर्तामोडबाट दमकतर्फ जाँदै गरेको डब्लुबी ७४ एएक्स २८२९ नम्बरको कार र सोही दिशातर्फबाट जाँदै गरेको प्रदेश न.१–०१–०२ह.९०१ नम्बरको सिटी सफारीलाई समेत ठक्कर दिएर पल्टिएको थियो ।

दुर्घटनामा बस चालक मोरङ कटहरी गाउँपालिका-३ बस्ने ४० वर्षीय रोहित महल्दार, सिटी सफारी चालक दमक नगरपालिका वडा-९ बस्ने ५३ वर्षीय राम गुरागाई, सोही सिटी सफारीमा सवार कमल गाउँपालिका-३ बस्ने २८ वर्षीया सुनिता सहनी, डब्लुबी ७४एएक्स २८२९ नम्बरको कार चालक भारत सिलिगुडी बस्ने ३२ वर्षीय गोपाल अग्रवाल र प्रदेश न. १–०१–००२च. ८४० नम्बरको कार चालक संखुवासभा थोतखोला गाउँपालिका-२ बस्ने ३७ वर्षीय टेनहेडर भोटे घाइते भएका थिए ।

सामान्य घाइतेहरुको दमक र बिर्तामाेडका बिभिन्न अस्पतालमा उपचार भइरहेकाे छ । अन्य चारजना घाइतेहरुको उपचार भइरहेको जनाइएको छ ।