बिर्तामोड। झापामा मोटरसाइकल दुर्घटनामा परेर तीनजनाको् मृत्यु भएको छ ।

गएराति १०बजे दमक नगरपालिका-१० सेतुमारी चोकनजिक भित्री सडकखण्डमा सेतुमारी चोकबाट बालुबथानतर्फ जाँदैं गरेको प्रदेश न १–०१–०१५ प १७९३ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाईकल चालक मोरङ रतुवामाई नगरपालिका- ८ बस्ने २७ वर्षीय बिराज थापा, सोही मोटरसाइकलमा सवार गौरादह नगरपालिका-५ बस्ने ३२ वर्षीया जमुना धिमाल र सोही ठाउँ बस्ने २५ वर्षीया मनचरी राई भनिने ओम कुमारी राई घाइते भएका थिए ।

उपचारको लागि तीनै जनालाई दमक अस्पताल दमक पठाएकोमा घाइते दुवै महिलाको उपचारको क्रममा राति ११ः३५ बजे मृत्यु भएको हो । मोटरसाइकल चालक थापालाई थप उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड रेफर गरिएको छ ।

त्यस्तै पूर्वपश्चिम राजमार्गअन्तर्गत शिवसताक्षीमा सडक निर्माणका लागि बनाइएको डाइभर्सनमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। हिजो साँझ अन्दाजी ७ बजेको समयमा शिवसताक्षी नगरपालिका वडा नम्बर–१० किरात चौकस्थित पूर्वपश्चिम राजमार्गमा को २ त ४१४५ नम्बरको ट्रयाक्टर रोकिराखेको अवस्थामा सोही दिशातर्फ आउँदै गरेको मे ९ प ६२४ नम्बरको मोटरसाइकल ट्रयाक्टरको पछाडीको भागमा ठक्कर खाई दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकल चालक मेचीनगर नगरपालिका–५ बस्ने ४२ वर्षीय सन्तोषकुमार लिम्बू र सोही मोटरसाइकलमा पछाडि सवार दमक नगरपालिका–५ बस्ने ३५ वर्षीया अनिता राई घाइते भएका थिए ।

घाइते दुबैलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएकोमा साँझ ७ बजे मोटरसाइकल चालक लिम्बूको उपचारको क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी वरिष्ठ नायव निरीक्षक अर्जुन सोडारीले बताए । सो ट्रयाक्टर कालिका कन्स्ट्रक्सनको भएको र ट्रयाक्टर चालक तत्काल फरार रहेकाले खोजतलास भइरहेको जनाइएको छ ।