अर्जुनधारा । झापाकाे अर्जुनधारा जलेश्वर धामले ४२ औं बार्षिक अनुष्ठानकाे हिसाब सार्वजनिक गरेकाे छ । धाम समितिले बुधबार पत्रकार सम्मेलन गरेर हिसाब सार्वजनिक गरेकाे हाे । 

२ कराेड १६ लाख रुपै‌याँ संकलन हुने अपेक्षा गरेर आयाेजना गरिएकाे अनुष्ठानमा १ कराेड ४४ लाख ३८ हजार रुपैंयाँ संकलन भएकाे छ । समितिले अपेक्षा गरेकाे रकमको ६७ प्रतिशत रकम संकलन भएकाे पाइएकाे छ । 

धाम समितिका काेषाध्यक्ष मनोज जोशीले प्रस्तुत गरेकाे प्रतिवेदनमा सहयाेग रसिदबाट ४७ लाख ५५ हजार, मन्दिर र १०८ भागवत भेटीमा १५ लाख ११ हजार, गंगा आरतीमा २ लाख २५ हजार, स्टल बिक्रीबाट ५२ हजार, १०८ यजमान शुल्कबाट ४४ लाख ६६ हजार, अक्षयकाेषमा २९ लाख ८३ हजार र अन्य आम्दानीमा ४ लाख ४४ हजार संकलन भएकाे उल्लेख छ । 

मंसिर ८ गतेदेखि सुरु भएकाे अष्टाेत्तरशत् १०८ पाठ पारायणमा ९१ लाख  ५६ हजार रुपैंयाँ खर्च भएकाे समितिकाे प्रतिवेदनमा जनाइएकाे छ । समितिले ५२ लाख ८१ हजार रुपैंयाँ बचत भएकाेसमेत जनाएकाे छ । 

पत्रकार सम्मेलनमा धाम समितिका अध्यक्ष नवीन गट्टानीले नेपालकाे १०० औं सम्पदा सूचिमा परेकाे अर्जुनधारा जलेश्वर धामकाे प्रचार प्रसारका लागि स्थानीय सञ्चारकर्मीहरुले गरेकाे याेगदानकाे सराहना गरेका थिए । उनले आगामी शिवरात्रीका समयमा 'एक साँझ, शिवका माझ' कार्यक्रम आयाेजना गर्ने निर्णय भएकाे हुनाले साे कार्यक्रममा पनि यस्तै सहयाेग प्राप्त हुने बिश्वास व्यक्त गरेका थिए ।