काँकडभिट्टा । झापाकाे मेचीनगरमा कारको ठक्करबाट एकजना पैदलयात्रीकाे मृत्यु भएकाे छ । घटनामा परेका अर्का एकजनाकाे उपचार भइरहेकाे प्रहरीले जनाएकाे छ ।
मेचीनगर नगरपालिका-१५ भगवती प्लाई फ्याक्ट्री स्थित ज्यामीरगढीबाट धुलाबारी तर्फ जाने भित्री सडक खण्डमा दक्षिणबाट उत्तर तर्फ जादैं गरेको नम्बर नखुलेको रातो रङ्को कारले पैदल यात्रीलाई ठक्कर दिएकाे थियाे ।
ठक्करबाट भारतको पश्चिम बगाल बस्ने अप्पु राय र साेही स्थानका केशव मादक घाइते भएका थिए । मेचीनगर नगरपालिका-१५ मा रहेकाे हिमशिखर फ्याक्ट्रीमा दुवैजना काम गर्दै आएका उनीहरुलाई ठक्कर दिएर कार फरार भएकाे थियाे । उनीहरुलाई उपचारको लागी आम्दा अस्पताल धुलाबारी लगेकोमा उपचारको क्रममा राती साढे ११ बजे अप्पु रायलाई डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएकाे छ ।
केशव मादकलाई थप उपचारको लागि बिर्तामोड पठाई उपचार भइरहेको छ । घटनापछि इलाका प्रहरी कार्यालय धुलाबारी र प्रहरी चौकी ज्यामिरगढीबाट खटिएको प्रहरी टोलीबाट उक्त कारको खोजतलास गर्दा भारतकाे बागडाेगरा बस्ने राेशन खत्रीले चलाउँदै गरेकाे अवस्थामा कार फेला परेकाे थियाे । डब्ल्यु बी ७४ एजी १२२५ नम्बरकाे साे कारसहित खत्रीलाई इलाका प्रहरी कार्यालय धुलाबारीमा ल्याई आवश्यक आनुसन्धान भई रहेको प्रहरीले जनाएकाे छ ।



















