बिर्तामाेड । झापाकाे बिर्तामोडको ग्यारेजमा मर्मत गरिरहेकाे समयमा आगलागी हुँदा तीनवटा बसमा क्षति भएको छ ।
आज बिहान साढे १० बजे बिर्तामोड–५ स्थित पश्चिम बसस्टेण्डनजिक रहेको ग्यारेजमा निदि क्याम्पसको मे १ ख ३३४५ नम्बरको बसमा मर्मत गर्ने क्रममा अचानक विद्युत सर्ट भई आगलागी भएको थियाे । आगलागीबाट स्कुल बस पूर्ण रुपमा जलेर नष्ट भएको छ ।
त्यस्तै सोही ग्यारेजमा बनाउन ल्याएको मे१ख२२१५ नम्बरको मातृ भाग्यरेखा बसको अगाडिको भाग जलेर क्षति भएको छ । त्यस्तै प्र१–०१–००१ख ४१२६ नम्बरको बसको पेन्टिङ जलेको छ । तीनवटा गाडी जल्दा अन्दाजी २१ लाख ४० हजार बराबरकाे क्षति भएको प्रहरीले जनाएको छ । बसमा लागेको आगो बिर्तामोड नगरपालिकाको दमकल, नेपाल प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।



















