झापा ।  मुलुककै प्रसिद्ध तीर्थस्थलमध्येको पाथीभरा मन्दिरमा केबलकार निर्माण गर्न थालिएपछि सम्पदा संरक्षकहरुले राष्ट्रिय मानव अधिकार आयोग गुहारेका छन् ।

विकासको नाममा सम्पदा मासेर केबलकार निर्माण गर्न थालिएको भन्दै उक्त कार्य रोक्नुपर्ने मागसहित आयोग अध्यक्ष तपबहादुर मगरलाई ज्ञापनपत्र बुझाइएको छ ।

मुक्कुमलुङ’ (पाथीभरा) लाई लिम्बू तथा याक्युङ समुदायको मुन्धुमी, सांस्कृतिक आध्यात्मिक आस्था स्थल मानिन्छ । मुक्कुमलुङ उक्त समुदायसँग जोडिएको संस्कृति र सांस्कृतिक सभ्यता भएपनि हिन्दुकरण गरेर पाथीभरा बनाइएको आरोप उनीहरूको छ ।

त्यसविरुद्ध स्थानीय बासिन्दा, लिम्बू समुदाय र विभिन्न जनसमूह आन्दोलित भइरहँदा अहिले विकासको नाममा स्थानीय सरोकारवालाको हित विपरीत व्यापारीकरणका निम्ति केबलकार निर्माण गर्न लागिएको र सरकारले त्यसमा सहयोग गरेको उनीहरुको दाबी छ । ‘राज्य र व्यापारिक कम्पनीको मिलेमतोमा मुन्धुमी ऐतिहासिक स्थल अतिक्रमण गरी नाम विस्थापित गर्दै केबलकार निर्माण गर्ने कार्य शुरु गरिएको छ । अहिलेसम्म केबलपार निर्माणको निहुँमा हजारौं रुख काटिए, राष्ट्रिय फूल लालीगुराँसका थुप्रै प्रजातिका रुख काटिए, बहुमुल्य जडिबुटी सखाप पारिएका छन् । यी सबै काम राज्यकै आडमा गरिएका हुन्,’ ज्ञापनपत्रमा उल्लेख छ ।