बिर्तामोड । झापाको बिर्तामोडमा २ करोड ५० लाखको लागतमा गायत्री माता मन्दिर स्थापना भएको छ । युवा उद्यमी रोनक बंशलको सक्रियतामा बिर्तामोडमा गायत्री मन्दिर स्थापना भएको हो ।

स्थानीय दाता, बिर्तामोड नगरपालिका र प्रदेश सरकारसमेतको आर्थिक सहयोगमा मन्दिर निर्माण भएको हो । २०८० जेष्ठ १७ गतेबाट निर्माण आरम्भ भएको मन्दिरको ५ दिवसीय अनुष्ठानको आयोजना गरेर प्राण प्रतिष्ठा गर्ने कार्यक्रम रहेको बंशलले बताए ।

माघ १७ गते प्रतिनिधिसभाका सभामुख देबराज घिमिरेको उपस्थितिमा कलश यात्रा गरिने र माघ २१ गते मन्दिरको प्राण प्रतिष्ठा गरिने उनले बताए । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको हातबाट प्राण प्रतिष्ठा गर्ने कार्यक्रम तय भएको उनले बताए ।
अनुष्ठानकै क्रममा माघ २० गते नेपालका प्रथम जगतगुरु अनन्त श्री विभुषित बालसन्त मोहनशरण देवाचार्य महाराजको प्रवचन कार्यक्रम राखिएको छ । यसका अतिरिक्त प्रत्येक दिन भजन किर्तन र महाप्रसाद वितरणको कार्यक्रम राखिएको बंशलले बताए ।
कार्यक्रम संयोजक बंशलका अनुसार बिर्तामोडमा निर्मित यो झापाको चौथो गायत्री मन्दिर हो । यसअघि भद्रपुर, अर्जुनधारा र कनकाईमा गायत्री मन्दिर स्थापना भएको छ । बैदिक सनातन धर्मका अनुसार गायत्री मातालाई पार्वती, सरस्वती र लक्ष्मीको अवतारका रुपमा लिने गरिन्छ ।



















