ताप्लेजुङ। ताप्लेजुङको फुङलिङदेखि पाथिभरा क्षेत्रको काफ्लेपाटी सम्मको यातायात अनिश्चितकालीन बन्द भएको छ । यातायात व्यावसायी सङ्घ काफ्लेपाटीले बन्द आह्वान  गरेको हो ।

प्रहरी र आन्दोलनरत पक्षबीच झडप भई घाइते भएकाहरूको उद्धारका लागि पुगेका रेडक्रसकर्मी, उद्योग वाणिज्य सङ्घ कर्मी र इन्सेक प्रतिनिधि चढेको गाडी आन्दोलनरत पक्षले बिहीबार तोडफोड गरेका थिए । 

गाडी तोडफोडसँगै चालकलाई समेत कुटपिट गरेको र उक्त जिम्मा आन्दोलनरत पक्षले नलिएसम्म यातायात ठप्प गरिएको यातायात व्यावसायी सङ्घ काफ्लेपाटीका अध्यक्ष कुमार लिम्बूले जानकारी दिनुभयो । अहिले घाइते चालक र झडपमा घाइते भएका सुरक्षाकर्मीहरूलाई उपचारको लागि जिल्ला अस्पताल ल्याइएको छ । 

उक्त झडपमा परि सुरक्षाकर्मी र आन्दोलनरत पक्ष बिचको झडपमा १३ जना घाईते भएका छन् । आन्दोलनरत पक्षले केबलकार निर्माण क्षेत्रमा गई नाराबाजी गरिरहेका छन् । यतिबेला होटलहरू समेत बन्द छन् ।