बिर्तामोड । निर्वाचन अधिकृतले जेसीसको बिधान विपरीत नेतृत्व चयन गरेपछि वीरता जेसीसमा बिवाद उत्पन्न भएको छ ।
निर्वाचन अधिकृत घनश्याम चौधरीले नयाँ नेतृत्व चयनमा बिधान विपरीत गतिविधि गरेको आरोप लागेको छ । अध्यक्षका आकांक्षी दिवाकरलाल चौधरीले निर्वाचन अधिकृत चौधरी र अधिवेसन निर्देशक सजेश शिवाकोटीमाथि त्यस्तो आरोप लगाएका हुन् ।
चौधरी र शिवाकोटीले जेसीसको बिधान विपरीत ४० बर्ष उमेर नाघेका व्यक्तिलाई सदस्य बनाएको, अयोग्य उम्मेदवारलाई अध्यक्ष घोषणा गरेको, गैर नागरिकलाई सदस्य बनाएको आरोप चौधरीले लगाएका छन् ।
वीरता जेसीसको परिक्षेद ६ को ३५.४ बमोजिम चौधरीले अध्यक्षका आकांक्षी युवराज कुंवर, उपाध्यक्षका आकांक्षी सुमन पोद्दार, प्रज्ववल विमली, बसन्त ढकाल, प्रभात मास्के, राज मुखिया र कृष्ण अग्रवालमाथि छानबिन गर्न चौधरीले निवेदन दर्ता गरेका थिए । निर्वाचन समितिले सो उपर छानबिन नगरि नयाँ समिति गठन गरेको आरोप उनले लगाएका छन् ।
चौधरीले बिर्तामोडमा पत्रकार सम्मेलन गरेर बिधान विपरीत गरिएको निर्वाचन रद्द गर्नुपर्ने, नेपाल जेसीसको रोहबरमा निर्वाचन गर्नुपर्ने, बिधान विपरीत वितरण भएको सदस्यता खारेज गर्नु पर्ने, मतदान प्रक्रियामा देखिएको गलत गतिविधि छानबिन हुनुपर्ने, कार्यकारिणी उपाध्यक्ष प्रभात मास्के र सुमन पोद्दारमाथि कारवाही हुनुपर्ने, अध्यक्ष कुँवर अयोग्य भएको हुनाले सिमरामा हुन लागेको जेसीआई लिडर एकेडेमीमा सहभागी गराउन नहुने माग राखेका छन् ।
दलगत र गुटगत स्वार्थ हावी हुँदै गएपछि वीरता जेसीसको छवि निरन्तर ओरालो लाग्दो छ । एउटा अमुक दलको छाँया जसरी सामाजिक संस्था जेसीस सञ्चालन हुन थालेका कारण यसको छवि ओरालो लागेको हो ।
केही समय अघि सम्पन्न वीरता लेडी जेसीसमा पनि एउटा गुटले अर्को गुटलाई नेतृत्वबाट बायस गरेपछि त्यसबिरुद्व उजुरी परेको थियो । उजुरीमाथि हालसम्म सुनुवाई भएको छैन ।



















