बिर्तामोड । बुद्धशान्ति गाउँपालिका वडा नम्वर –२ खतिवडा चौकस्थित जयपुर –शनिश्चरे सडकखण्डमा मोटरसाइकलको ठक्करबाट एक बृद्वाको मृत्युु भएको छ ।

शनिश्चरेबाट जयपुरतर्फ जाँदै गरेको मे.९ प. ७४८२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री सोही ठाउँ बस्ने अन्दाजी ७५ वर्षीया इन्द्रमाया कार्कीको मृत्यु भएको हो । घाइते कार्कीलाई बीएण्डसी अस्पताल बिर्तामोड पठाएकोमा अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषणा गरेका थिए । 

मोटरसाइकल चालक इलाम सूर्योदय नगरपालिका वडा नम्वर–१० बस्ने २१ वर्षीय भुवन न्यौपानेलाई इलाका प्रहरी कार्यालय धुलावारीले नियन्त्रणमा लिएको छ । सोही दुर्घटनामा मोटरसाइकलमा पछाडि सवार बुद्धशान्ति गाउँपालिका वडा नम्वर –७ बस्ने २४ वर्षीय रविन गड्तौला घाइते भएका छन् । उनको खुट्टा र दुवै हातमा चोट लागेर सिटी अस्पताल बुधबारेमा उपचार भइरहेको छ । मोटरसाइकल इलाका प्रहरी कार्यालय बुधबारेको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।