फिदिम । पाँचथरको कुम्मायक  र फिदिममा भीषण डढेलो लाग्दा एकजनाको मृत्यु भएको छ । आगलागीमा पाँचजना घाइते भएका छन् ।

आगलागीमा परेर  ७ वटा कटेरो जलेर नष्ट भएका छन् भने १० वटा चौपाया मरेका छन् । हिजो दिउँसो करिव ३ बजेदेखि कुम्मायक गाउँपालिका वडा नं १ र ३ मा रहेको खाल्डे सामुदायिक वनमा  आगलागी भएको हो ।

आगलागीबाट कुम्मायक ३ बस्ने २२ वर्षीया प्रतिमा सम्बाहाम्फेको मृत्यु भएको छ । प्रतिमालाई उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजादै गर्दा धनकुटाको भेडेटारमा ल्याई पुर्याउदा मृत्यु भएको हो । त्यस्तै २८ वर्षीया सपना सम्बाहाम्फे उनकी छोरी ११ वर्षीया सिवाना सम्बाहाम्फे र ६० वर्षीया निरमाया सम्बाहाम्फे घाइते भएका छन् । उनीहरुको धरानमै उपचार भइरहेको छ ।त्यस्तै कुम्मायक–१ खाल्डेमा लागेको आगो निभाउन गएका सोही स्थानका ३१ वर्षीय खगेन्द्र विश्वकर्मा लडेर घाइते भएका छन् ।

आगलागीबाट लाखौंको क्षति भएको छ । कुम्मायक ३ बस्ने रामकृष्ण कार्कीको खाली घर, कटेरो, जगत कार्कीको मान्छे नबस्ने घर, कटेरो, टिकाबहादुर कार्कीको खाली खोल्मा, भिमबहादुर थापाको घर, डम्बरबहादुर कार्कीको घर, कटेरो , गोरु १, बाख्रा ९ मोहनबहादुर कार्कीको घर, कटेरो, भिममाया याक्सोको किचन, शौचालय जलेर नष्ट भएका छन् । उक्त आगलागी सशस्त्र प्रहरी, नेपाल प्रहरी, फिदिम नगरपालिकाको दमकल र स्थानीयबासीको सहयोगमा निभाउने कार्य भइरहेको छ । जंगलमा लागेको आगो गाउँ बस्तीमा पसेको हो ।

त्यस्तै सोही समयमा फिदिम– १३ जौबारीस्थित रानी सामुदायिक वनमा पनि डढेलो लागेको छ । आगलागीबाट मदन राईकी श्रीमती अन्दाजी ४७ वर्षीया उषा नेम्वाङ राई घाइते भएकी छन् । वनबाट दाउरा बोकेर आउने क्रममा अचानक आगोमा लडेर उनको शरीरको विभिन्न भाग जलेको छ । घाइतेलाई उपचारको लागि जिल्ला अस्पताल फिदिम पठाइएको छ । उक्त आगो प्रहरी र स्थानीयको सहयोगमा निभाइएको थियो