बिर्तामाेड । बिचाैलियका कारणले सेवाग्राही ठगीमा परेकाे गुनासाे आएपछि प्रहरीले ९ जनालाई पक्राउ गरेकाे छ ।
पक्राउ पर्नेमा बिर्तामाेड-१ का सुरज आचार्य, रमेश आचार्य, गरिमा घिमिरे, सीता भेटवाल, तुलसी खतिवडा, बिर्तामाेड- २ का टंकप्रसाद राजबंशी, ५ का रामप्रसाद ढकाल, बिर्तामाेड- ३ का युवराज लिम्बु र कनकाई-१ का दिवस राई रहेका छन् । पक्राउ परेकामध्ये ढकाल साेही स्थानमा चिया पसल गर्ने गरेका छन् ।
केही दिन अघि बिचाैलियाका कारण सेवाग्राही ठगीमा परेकाे समाचार सार्वजनिक भएकाे थियाे । केही बिचौलियाले सेवाग्राहीको लाखौं रुपैयाँ रकम लिएर फरार रहेको र सेवाग्राहीबाट रकम लिने र कार्यालयमा दाखिला नगर्ने लगायतका समस्याहरु उजागर भएपछि प्रहरीले पक्राउ गरेको हो। साे समाचार सार्वजनिक भएपछि प्रहरीले यातायात व्यवस्था कार्यालय मेची, बिर्तामाेडमा स्टिङ अपरेसन गरेकाे हाे ।
यातायात व्यवस्था कार्यालयका कर्मचारीसँगकाे सेटिङमा बिचाैलियाले सेवाग्राहीमाथी ठगी गर्ने गरेका छन् । कार्यालयमा काम लिएर जाँदा बिचाैलियाकाे सहायता नलिई कामै गर्न नसकिने अवस्था कर्मचारीले बनाएका हुन्छन्। उनीहरुमाथी ५ दिनकाे म्याद थप गरेर अनुसंधान सुरु गरेकाे इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी प्रकाश बिष्टले जानकारी दिए ।