बिर्तामाेड । झापाको शिवगञ्ज बजारमा पसलहरू फुटाएर चोरी गरेको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका–५ स्थित आमवारी टोल निवासी छविलाल खवास (चौधरी) रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

शिवगञ्ज बजार आधा दर्जन बढी पसलमा चोरीका घटना घटेको थियो । पसलहरूमा चोरी हुन थालेपछि प्रहरीले विशेष सूचनाको आधारमा खवासलाई चोरीका सामानसहित मङ्गलवार प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले उनको घरमा खोज तलास गर्दा दराजमा लुकाइछिपाई राखेको चुरोटसहित विभिन्न सामग्री बरामद गरेको छ । साथै चोरी घटनामा प्रयोग हुने विभिन्न औजार समेत उनको घरबाटै फेला परेको छ ।

पक्राउ परेका उनीमाथि आवश्यक कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ ।