बिर्तामाेड । बिर्तामोडका–४ का बिष्णुमाया बिष्टको हत्यामा संलग्न भएको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाले बिहीबार पत्रकार सम्मेलन गरी अभियुक्त सार्वजनिक गरेको हो ।

प्रहरीले घटनाको मुख्य अभियुक्त गंगाप्रसाद राजबंशी नै रहेको बताएको छ । झापाका प्रहरी प्रमुख मिलन केसीले चोरी गर्ने उदेश्यले राजबंशीको समुहले बृद्धाको हत्या गरेको खुलेको बताएका छन् । बिर्तामोड–४ का २२ बर्षिय राजबंशीले सोही स्थानका २३ बर्षिय महेश राजबंशीको सहयोगमा हत्या गरेको केसीले जानकारी दिए ।

प्रहरीले चोरीको सामान लुकाउन भूमिका खेलेको अभियोगमा गंगाप्रसादकी श्रीमती बर्ष राजबंशी, चोरीको सामान बिक्री गर्न सहयोग गर्ने सोही स्थानका ज्याक भन्ने भगिरथ माझी र चोरीको सामान खरीद गर्ने अर्जुनधारा–६ मा हनुमान सुनचाँदी पसल सञ्चालन गर्ने धनबहादुर कामीलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
प्रहरीका अनुसार गंगाप्रसाद र महेश राजबंशी मिलेर चोरी गर्ने योजना अनुसार बैशाख २६ गते बिष्टको घरमा गएका थिए । घरमा एक्लै रहेको समयमा चोर आएको जस्तो लाग्यो भनेर उनले काठमाण्डौमा रहेका छोरालाई फोनमा जानकारी गराइन् । त्यसपछि उनका छोराले छिमेकीलाई घरमा जान भने । छिमेकी आएर होहल्ला गरेपछि चोर राजबंशीद्धय भागेका थिए ।
घटना अनुसार छिमेकी घर फर्किएपछि फेरि राजबंशीले त्यो घरमा चोरी गर्ने योजना बनाए । नजिकै लुकेर बसेका उनीहरु घर वरिपरी लगाएको पर्खाल नाघेर भित्र पसे । चोरी गर्ने क्रममा बिष्टले हो हल्ला गर्न थालेपछि ताला फुटाउन ल्याएको रड प्रयोग गरेर उनको हत्या गरिएको पाइएको छ । बृद्धाको टाउकोमा गंगाप्रसादले तीन पटक रडले प्रहार गरेको स्वीकार गरेका छन् ।
प्रहरीले बृद्धाको हत्या घटनालाई ‘अपरेसन ब्ल्याक ब्याग’ नाम दिएर अनुसंधान सुरु गरेको थियो । प्रारम्भमा कुकुर ल्याएर अनुसंधान गनरेको भएपनि त्यो प्रभावकारी हुन सकेको थिए । घटनामा संलग्न अभियुक्तकोे खोजीका लागि प्रहरीका चार वटा टोली लगातार खटिएका थिए । कुनै सुराक फेला पार्न नसकेका कारण केही ढिला अभियुक्त पक्राउ परेको प्रहरी स्रोतको दाबी छ । घटना भएपछि सिआइबीको टोली, प्रदेश टोली, जिल्ला प्रहरी र इलाका प्रहरी कार्यालय बिर्तामोडको गरी चार वटा टोलीले संयुक्त अनुसन्धान गरेका थिए ।
प्रहरीले घटनास्थलबाट ताला फुटाउन प्रयोग भएका फलामका उपकरण, सुनको औठी, सुनको बाला, सुनको सिक्री, सुनको टप, सुनको जन्तर र चाँदीको कलश बरामद गरेको जनाएको छ । अभियुक्तहरुलाई अदालतबाट म्याद थप गरी अनुसंधान सुरु गरिरहेको प्रहरीको भनाई छ ।


















