बिर्तामोड । झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा जारी झापा महिला गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज पहिलो सेमिफाइनल खेल हुँदैछ ।
आज दिउँसो ३ बजेबाट सुरु हुने खेलमा विभागीय टोली नेपाल पुलिस क्लब र संकटा एफसीबीच उपाधि नजिक पु¥याउने लक्ष्यका साथ प्रतिस्पर्धा हुनेछ ।
यसअघि नेपाल पुलिस क्लबले क्वार्टर फाइनलमा चर्च ब्वाइज युनाइटेडलाई ८–० गोलले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको थियो । संकटा एफसीले घरेलु झापा एफसीलाई ६–० गोलले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो ।
संकटाले यसअघि विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई समेत पराजित गरिसकेको छ । साथै, टोलीमा अहिले ६ जना यु–२० राष्ट्रिय खेलाडीहरू र भुटानकी एक राष्ट्रिय खेलाडी समेत रहेका छन् । उदीयमान र अन्तर्राष्ट्रिय अनुभव भएका खेलाडीहरूको उपस्थितिले संकटा टोलीलाई थप बलियो बनाएको छ ।
तर, नेपाल पुलिस क्लब पनि बलियो दाबेदारका रूपमा मैदानमा उत्रिँदैछ । पुलिस टोलीमा राष्ट्रिय खेलाडी रेखा पौडेल, उषा नाथ, मीना देउवा र पूजा राना लगायतका अनुभवी खेलाडीहरू छन् । यी खेलाडीहरूको अनुभवले टोलीलाई संकटाविरुद्ध जित निकाल्ने आत्मविश्वास दिनेछ ।
आजको खेलको विजेता टोलीले फाइनलमा विभागीय टोली एपिएफ एफसी वा त्रिभुवन आर्मी फुटबल क्लबमध्ये एकसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।


















