​सिन्दूर, जुन नेपाली समाजमा विवाहको पवित्र प्रतीक मानिन्छ, त्यो वास्तवमा प्रेमको प्रतीक हो कि पितृसत्तात्मक समाजले महिलालाई लगाएको बन्धनको ट्याग ?  यो प्रश्न आधुनिक समाजमा झन्‌झन्‌ महत्त्वपूर्ण बन्दै गइरहेको छ।

एउटा पुस्ताले सिन्दूरलाई आफ्नो सौभाग्य र पतिको प्रेमको चिह्न मान्यो, तर अर्को पुस्ता यसलाई अस्वीकार गर्न तयार भइरहेको छ। त्याे पुस्ताले सिन्दूरको अर्थ र यसले विभिन्न पुस्ताका महिलाको जीवनमा पारेको प्रभावबारे विश्लेषण गर्छ।

​सिन्दूर: पराधीनताको लालमोहर

​इतिहासदेखि नै सिन्दूरलाई महिलाको शिरमा लगाइएको 'सोल्ड आउट ट्यागका रूपमा हेर्न सकिन्छ। यसले महिला अब कसैको व्यक्तिगत सम्पत्ति भएको जनाउँछ। हाम्रो समाजमा सिन्दूरले महिलालाई पराधीन र पुरुषको अधीनमा राख्ने काम गरेको छ। यसैको आडमा सती प्रथाजस्ता कुप्रथाले पनि प्रश्रय पाएका थिए, जहाँ पति 'परमेश्वर'को मृत्युपछि पत्नीलाई जीवितै जलाइन्थ्यो।

भारतीय साहित्यकार मुन्सी प्रेमचन्दको कथाकी गौरालाई सम्झौँ, जसले समाजको कलङ्कबाट जोगिन सिन्दूरको सहारा लिईन्। उनको खाली सिउँदोले गर्दा समाजले उनलाई लाञ्छना लगायो। यसबाट हतास भएर उनले अर्धपरिचित पुरुषको नामको सिन्दूर लगाइन् र अचानक सौभाग्यवती' कहलिइन्। यस कथाले सिन्दूर नहुँदा समाजले गर्ने अपमान र सिन्दूरले दिने अस्थायी 'इज्जत'को यथार्थलाई उजागर गर्छ।

​पुस्ता-पुस्ताको भोगाइ

​हाम्रो समाजमा सिन्दूरको प्रभाव एक पुस्तामा मात्र सीमित छैन। यसले विभिन्न पुस्ताका महिलाको जीवनमा फरक-फरक तरिकाले असर पारेको छ: ​अघिल्लो पुस्ता: हजुरआमा र आमाको पुस्ताका महिलाहरूले सिन्दूरलाई आफ्नो जीवनको अभिन्न अंगका रूपमा स्वीकार गरे। उनीहरूले सिन्दूरलाई 'सतीत्व' 'सौभाग्य'को प्रतीक माने। धेरै महिलाले आफ्नो इच्छाविपरीत बलजफ्ती सिन्दूर लगाउनुपर्‍यो र त्यसलाई नै जीवनभरको नियति मानेर सहनुपर्‍यो। उनीहरूले सिन्दूरलाई एउटा कवचका रूपमा प्रयोग गरे, जसले समाजका अनेकौं कुदृष्टि र लाञ्छनाबाट जोगाउँछ भन्ने विश्वास थियो। सिन्दूरको दासता र त्यसले सिर्जेको दुःखका बावजुद उनीहरूले त्यसलाई आफ्नो भाग्य ठाने। ती महिलाहरू आज पनि आफ्ना सन्तानलाई 'सिन्दूर लगाउनुपर्छ, सहनुपर्छ, भन्नेजस्ता उपदेश दिइरहेका छन्।

​आधुनिक पुस्ता: आजकी आधुनिक र शिक्षित महिलाहरू पनि सिन्दूर र मंगलसूत्रलाई पतिले दिएको प्रेम'का रूपमा स्वीकार गर्छन्। उनीहरू 'तिमी छौ र पो सिन्दूरको अर्थ छ, नत्र जिन्दगी व्यर्थ छ' जस्ता गीत र भनाइहरूबाट प्रभावित छन्। बजारले पनि उनीहरूलाई सिन्दूरको महिमामा आकर्षित गरिरहेको छ। यद्यपि, उनीहरूले यो सोचेका छैनन् कि यदि सिन्दूर प्रेमको प्रतीक हो भने पुरुषले किन प्रेमको चिह्न लगाउँदैनन् ?

​युवा पुस्ता: नयाँ पुस्ता सिन्दूरको आधिपत्यबाट डराइरहेको छ। उनीहरू सिन्दूरलाई आफ्नो व्यक्तिगत स्वतन्त्रता र अस्तित्वमाथिको हस्तक्षेप मान्छन्। उनीहरू प्रेमलाई कुनै चिह्न वा बन्धनले परिभाषित गर्न चाहँदैनन्।

सिन्दूरको समाजशास्त्र बुझ्न आवश्यक
सिमोन द बोउवारजस्ता नारीवादी चिन्तकले भनेझैँ सिन्दूर पुरुषले आफ्नो निजी सम्पत्तिको मानचित्र निर्माण गरेपछि महिलालाई नियन्त्रणमा राख्ने षड्यन्त्रको उपज हो। यसलाई प्रेमको प्रतीक भनिए पनि यो केवल महिलाको यौनिकतालाई कैद गर्न प्रयोग गरिएको एक चिह्न हो। ​सिन्दूरको दासताबाट मुक्त हुने महिलाले सोध्न सक्नुपर्छ, सिन्दूरको उत्पत्ति कुन प्रयोजनका लागि भयो ? के प्रेम केवल महिलाको भागमा मात्र हुन्छ ? , पतिलाई दिइएको प्रेमको चिह्न के हो ? ​जसरी राहुल सांकृत्यायनको भोल्गादेखि गंगासम्मका निशा र दिवाहरूले आफ्नो स्वच्छन्दता गुमाएका थिए, त्यसरी नै आज पनि महिलाले आफ्नो स्वतन्त्रता गुमाएका छन्। सिन्दूरले एकातिर महिलालाई बन्धनमा राख्छ भने अर्कोतिर पतिविहीन अवस्थामा सिन्दूर खोसिँदा उनको हाँसो, उमङ्ग र रङसमेत खोसिन्छ। सिन्दूर लगाएर पनि उनी कसैको निजी सम्पत्ति मानिन्छन् र नलगाउँदा समाजले उनलाई कलङ्कित ठान्छ। ​सिन्दूरको दासताबाट मुक्त हुन चाहने महिलाले भन्न सक्नुपर्छ, 'म सिन्दूरको समाजशास्त्र बुझ्छु। त्यसैले म यसको प्रभुत्वलाई खारेज गर्छु। म कसैद्वारा खरिद गरिएको या लिलाम गरिएको वस्तु होइन, म एक स्वतन्त्र र स्वायत्त अस्तित्व हुँ।' यही नै हरेक पुस्ताका महिलाको आवाज बन्नुपर्छ।